राष्ट्रिय सुन्तला जात वाली बिकास कार्यक्रम
सुन्तलाजात फलफूल मध्ये सुन्तला नेपालको रैथाने (indigenous) फलफूल हो । हाम्रो देशमा परापूर्वकाल देखि सुन्तलाजात फलफूल खेती हुंदै आएको छ । देशका केहि पुराना पकेट क्षेत्रहरूमा सय वर्षभन्दा बढी उमेरका फल दिने सुन्तलाका बोटहरू अहिले पनि पाईन्छ । देशको पूर्वदेखि पश्चिमसम्मको मध्य पहाडी भू–भाग सुन्तलाजात फलफूल उत्पादन हुने क्षेत्र अन्तरगत पर्दछ । सुन्तलाजात फलफूल अन्तरगतका सुन्तला, जुनार, कागती, निबुवा, भोगटे, ज्यामिर, बिमिरो, चाक्सी, काठे आदि विभिन्न भू–भागमा पाईन्छ । फलफूल अन्तरगत सुन्तलाजात फलफूलले मध्य पहाडी क्षेत्रको आर्थिक अवस्थामा सुधार ल्याउन महत्वपुर्ण योगदान गरेको छ ।
मध्य पहाडी तथा हिमाली जिल्ला गरी कुल ४२ जिल्लामा सुन्तलाजात फलफूल ब्यवसायिक कार्यक्रम संचालन भैरहेको छ । यसैगरी थप २० जिल्लामा साधारण कार्यक्रम अन्तरगत घरबारी बगैचा कार्यक्रम संचालन हुंदै आएको छ । यसरी कुल ६२ जिल्लामा संचालन भएको ब्यवसायिक तथा घरबारी बगैचाबाट ३९०३५ हेक्टर क्षेत्रफल ढाकिएको छ । हाल सुन्तलाजात फलफूलले ढाकेको कुल क्षेत्रफलको ६५ प्रतिशत क्षेत्रफल उत्पादनशील अबस्थामा रहेको छ । आ.व. २०७१/७२ को तथ्याङ्क अनुसार कुल २,२२,७८९ मे.टन फल उत्पादन भएको देखिन्छ ।
वि.सं. २०१७ सालमा Citrus Research Sub-station, Pokhara र वि.सं. २०१८ सालमा Citrus Research Station Dhankuta स्थापना भएको थियो । यसैगरी बि.सं. २०२३ सालमा फलोद्यान विभाग (Department of Horticulture) को स्थापना भयो । वि.सं.२०२९ सालमा कृषि विभागको पुर्नगठन हुंदा सुन्तलाजात फलफूल विकास कार्यक्रम कार्यान्वयन गर्न राष्ट्रिय स्तरमा राष्ट्रिय सुन्तलाजात वाली विकास कार्यक्रमको स्थापना भयो ।